सामान्यतयाः स्टारलाई फ्यानहरुले कुर्छन् । स्टारलाई कुर्नुको मजै बेग्लै हुन्छ । तर स्टारहरु कुर्नमा उति मजा मान्दैनन् । उनीहरुलाई कुर्नुजस्तो बेमज्जा केहीमा छैन । त्यसैले त कलाकारहरु सुटिङस्थलमा निकै ढिला आइपुग्छन्, ताकि कुर्नु नपरोस् ।
यस पटकको सेलिब्रिटी डेटिङका लागि पहिलो चलचित्रबाट नै मज्जैले लोकप्रिय बन्न सफल भएका राज बल्लभ कोइरालालाई छानेका थियौँ । र, साइबरसंसारमा नेपाली चलचित्र उद्योगबाट पहिलो पटक पुरुष कलाकारलाई हामीले सेलिब्रिटी डेटिङका लागि छानेका थियौँ र उनको पोल्टामा प्रशस्त फ्यानहरु आएको हामीले इमेलमार्फत् देखेका थियौँ ।
तर डेटिङका दिन कलाकार राज बल्लभ मात्र होइन, साइबर संसार र च्यानल नेपालको आधा दर्जन समूह राम्रै कुराईमा पर्यो । डेटिङमा आउने भनिएकी विजेता मुना मोक्तानको अत्तोपत्तो थिएन । उनी फोनमा बेलाबेला आफूहरु आइरहेको जानकारी त दिइरहेकी थिइन् तर कहाँ आइपुगिन् भन्ने जानकारी नपाएर हामी सबै चकित परिरहेका थियौँ ।
अन्ततः छुट्याइएको समयभन्दा उनी दुइ घण्टा ढिलो कार्यक्रमस्थलमा माफी माग्दै आइपुगिन् र उनी एक्लै चाहिँ थिइनन् । उनले आफूसँग अर्की एक साथी लिएर आएकी थिइन् ।
भर्खरै बीबीएस दोस्रो वर्षको परीक्षा दिइरहेकी हुनाले उनले बारम्बार डेटिङ सार्न साइबरसंसारलाई दवाव दिइरहेकी थिइन् ताकि फूर्सदमा राम्रैसँग डेटिङ गरुँ । तर हाम्रा पनि निश्चित सीमा हुनाले हामीले उनको अनुरोधलाई स्वीकार गर्न सकेनौँ । बिहीबार दिउँसो मुना साथीसहित आइपुग्दा हस्याङफस्याङ उनी भोलि (शुक्रबार) दिनुपर्ने परीक्षाका बारेमा चिन्ता व्यक्त गर्दै थिइन् ।
राज बल्लभका लागि यो किसिमको पहिलो डेटिङ थियो र मेरो विचारमा योजस्तो स्मरणीय डेटिङ शायदै भयो होला । सधैँभरि अरुलाई कुराउने उनी, त्यस दिन फ्यानको कुराइमा बस्दा उनको छटपटी हेर्न लायकको थियो ।
आउनुहोस्, त्यसबेला भएका कुराकानीलाई भिडियोमै हेरौँ-